चेल्सी छाड्ने विलियनको घोषणा

एजेन्सी लन्डन । ब्राजिलियन विंगर विलियनले बिदाइ पत्र लेख्दै इंग्लिस क्लब चेल्सी छाड्ने घोषणा गरेका छन् । चेल्सीसँग तीन वर्षको सम्झौता मागे पनि चेल्सीले त्यसलाई पूरा नगरेपछि विलियनले स्टामफोर्ड ब्रिज छाड्ने पक्का गरेका हुन् ।
उनले समाजकि सञ्जाल इन्स्टाग्रामबाट क्लब र समर्थकलाई बिदाइ पत्र लेख्दै अर्का सिजन चेल्सीबाट नखेल्ने बताएका छन् । उनले आफ्नो सात वर्षको करियरमा सहयोग गर्ने चेल्सी समर्थकलाई धन्यवाद र अब अघि बढ्ने समय आएको भन्दै टिमका सहकर्मीसँग बिदा मागेका छन् ।

‘ती सात वर्ष आश्चर्यजनक र उत्कृष्ट थिए । अगस्ट २०१३ मा मैले चेल्सीको प्रस्ताव प्राप्त गरेको थिए । म विश्वस्त थियो कि मैले यही ठाउँमा खेल्नुपर्दछ । आज म पक्का छु कि यो सबैभन्दा राम्रो निर्णय हो । त्यहाँ धेरै खुसीका समय थिए, केही दुःखी, त्यहाँ ट्रफीहरू थिए र यो सधैं गहन थियो । यद्यपि, ट्रफीभन्दा बाहिर मैले आफ्नैबारे धेरै सिकें । मैले आफूलाई थप प्रमाणित गरें । प्रत्येक प्रशिक्षणको साथ, ड्रेसिङ रुमको हरेक समयमा सिक्दै दिए ।’ उनले बिदाइ सन्देशमा लेखेका छन् ।
३२ वर्षीय विंगरको चेल्सीसँगको सम्झौता यसै समरमा सकिएको छ । क्लबले उनलाई दुई वर्षको सम्झौता नवीकरणको प्रस्ताव अघि सारे पनि उनले चेल्सीमा तीन वर्षको नवीकरण मागेको थियो ।

विलियन पछिल्लो समय अर्को लन्डन क्लब आर्सनलसँग जोडिएका छन् । उनी प्रतिसाता १ लाख पाउन्ड पारिश्रमिक पाउने सर्तमा आर्सनलमा जाने बताइएको छ । आर्सनलले विलियनलाई तीन वर्षको अनुबन्धनको प्रस्ताव अघि सारिसकेको छ । विलियन २०१३ मा रसियन क्लब एन्जि माखाचाख्लाबाट ३० मिलियन पाउन्डमा लन्डन क्लब चेल्सी आएका थिए । चेल्सीमा सात वर्ष बिताउँदै ३ सय ३९ खेलमा ६३ गोल र ६२ गोलको अवसर सिर्जना गरेका थिए । विलियनले यो सिजन चेल्सीका लागि ४७ खेलमा ११ गोल र ९ गोलका लागि सहायता दिएका थिए ।