३३ वर्ष पूरा भए मेसी अर्जेन्टिनाको जर्सीमा अभागी, बार्सिलोनामा कीर्तिमानी

अन्तर्राष्ट्रिय फुटबलमा स्पेनिस क्लब बार्सिलोना र फरवार्ड लिओनल मेसी पर्याय जस्तै हुन्। किनकी मेसीले बार्सिलोनाका उपाधि मात्र दिलाएका छैनन् दर्जनौ कीर्तिमान बनाएका छन्।बुधबार ३३ वर्ष पूरा भएका मेसीले २००४ मा बार्सिलोनामा डेब्यू गरेका थिए। त्यसयता उनले ला लिगामा ४७८ खेल खेल्दै ४४० गोल गरेका छन्। यो स्कोर बार्सिलोनाका लागि मात्र होइन ला लिगाको पनि सर्वाधिक हो।

मेसीले बार्सिलोनाबाट ३४ ट्रफी उचालिसकेका छन्। त्यहि प्रदर्शनको आधारमा उनले ६ पटक बालन डि’अर अवार्ड आफ्नो पोल्टामा पारेका छन्। मेसी ६ पटक युरोपियन गोल्डेन सु अवार्ड हात पार्ने खेलाडी पनि हुन्।अनेकौ कीर्तिमान बनाएका मेसीले सन् २०१२ मा क्लब र देशका ९१ गोल गरेका थिए। उनले सो वर्ष बार्सिलोनाका लागि ७९ गोल र अर्जेन्टिनाका लागि १२ गोल गरेका थिए। यी गोल ६९ खेलमा सम्भव भएका थिए।

बार्सिलोनाका लागि ६२९ गोल गरेका मेसी २०औं शताब्दीका महान् खेलाडी पेलेको कीर्तिमान तोड्नबाट १४ गोल टाढा छन्।ब्राजिलियन लिजेन्ड पेलेले सन्तोस क्लबका लागि ६४३ गोल गरेका थिए। उनी एकै क्लबका लागि बढी गोल गर्ने खेलाडी हुन्। यो कीर्तिमान मेसीले निकट भविष्यमै तोड्ने सम्भावना छ।मेसीले अहिलेसम्म ला लिगाको १० ट्रफी उचालिसकेका छन् भने ४ पटक युरोपियन च्याम्पियन्स लिगको उपाधि जितेका छन्। ६ पटक कोपा डेल रे, ३ पटक फिफा क्लब विश्वकप, ३ पटक युइएफए सुपरकप, ७ पटक स्पेनिस सुपरकप हात पारेका छन्।

मेसी करिअरको ७ सय गोलको नजिक छन्। क्लबका लागि ६२९ गोल गरेका उनले देशका लागि ७० गोल गरेका छन्।सन् २००५ मा राष्ट्रिय टिममा डेब्यू गरेका उनले अहिलेसम्म १३८ क्याप जितिसकेका छन्। तर मेसी अर्जेन्टिनाको जर्सीमा सधैं अभागी सावित हुँदै आएका छन्।मेसीले अन्तर्राष्ट्रिय फुटबलमा अर्जेन्टिनाबाट राम्रो नखेलेका पनि होइनन्। तर उनी र उनको देश अर्जेन्टिना जहिले पनि अभागी सावित हुँदै आएको छ पछिल्ला वर्षहरुमा। अर्जेन्टिनाले सन् १९९३ यता कोपा अमेरिका फुटबलको उपाधि जित्न सकेको छैन भने विश्वकप १९८६ यता जितेको छैन।

मेसीकै कप्तानीमा खेलेका तीनवटा फाइनलमा चुकेको अर्जेन्टिना १९९२ यता उपाधिविहीन नै छ, उपाधिको खडेरी नै लागेको छ। सन् २००५ मा १८ वर्षको उमेरमा हंगेरीविरुद्धको खेलबाट राष्ट्रिय टिममा डेब्यू गरेका मेसीले ठूला प्रतियोगितामा उपाधिबिहीन भएपछि सन् २०१६ मा अन्तर्राष्ट्रिय खेलबाट संन्यास लिने घोषणा गरेका थिए।

तीन वर्षमा मेसीकै कप्तानीमा तीन ठूला प्रतियोगिताको फाइनलमा पुग्यो अर्जेन्टिना तर सबैमा उपाधिबिहीन भयो। त्यसैको चोटमा परेका मेसीले अन्तर्राष्ट्रिय खेलबाट विदा लिने अप्रत्यासित निर्णय गरेका थिए।सन् २०१४ मा विश्वकप फुटबलको फाइनल पुग्यो तर जर्मनीसँग पराजित हुँदै उपविजेतामै सीमित भयो। विश्वकपमा उपाधिविहीन फर्किए पनि कोपा अमेरिकाको उपाधि जितेर विश्वकपमा लागेको घाउमा मल्हम लगाउने धुनमा रहेको अर्जेन्टिना फेरि २०१५ मा भएको कोपा अमेरिकाको फाइनलमा चुक्यो। आयोजक चिलीले पेनाल्टी सुटआउटमा मेसीको टोलीलाई पराजित गर्‍यो।लगातार दोस्रो पटक मेसीकै कप्तानीमा कोपा अमेरिकाको फाइनल पुगेको अर्जेन्टिना फेरि २०१६ मा अभागी सावित भयो। अर्जेन्टिना समूह चरण र बाँकी खेलमा सानदार जित हात पार्दै फाइनल पुगेको टोली थियो, तर फाइनलमा फेरि तेस्रो पटक चुक्यो त्यो पनि मेसीकै कप्तानीमा, त्यो पनि चिलीसँगै हार्‍यो। अनि मेसीले तत्काल अन्तर्राष्ट्रिय खेल छाड्ने निर्णय लिएका थिए।मेसीले राष्ट्रिय टोलीमा सन् २००५ मा डेब्यु गरे यता सन् २००८ मा ओलम्पिकमा स्वर्ण र २० वर्ष मूनिको विश्वकप फुटबलको उपाधि अर्जेन्टिनाको जर्सीमा हासिल गरेको उपलब्धि हो।

Related Posts